फोहोर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा फोहोर प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारका साथै भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा उक्त फोहोर प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए ।

भेरीगंगा, लेकबेसी तथा गुर्भाकोट नगरपालिकाको फोहोरलाई एकै ठाउँमा राखेर प्रशोधन केन्द्र गर्न प्रशोधन केन्द्र निर्माण हुन लागेको भए पनि हालसम्म भेरीगंगासँग लेकबेसी नगरपालिकाले मात्र सम्झौता गरेको उनले जानकारी दिए । ‘भौतिक संरचना निर्माणको काम पुरा भएको छ । निर्माण भएका भवनमा पानी तथा बत्ती, प्रर्खालका कामहरू बाँकी रहेका छन्’, ढकालले भने ।

भौतिक पूर्वाधार तथा सडकको काम भए पनि अब कुहिने र नकुहिने फोहोरलाई प्रशोधन गर्ने उपकरण खरिद गर्ने रकम नहुँदा समस्या भएको उनले बताए । उनले भने, ‘प्रदेश सरकारले सुरुमा सहयोग गरेको थियो । अहिले नगरपालिकाले एक्लै काम गर्नुपर्दा समस्या भएको छ ।’,

भेरीगंगा नगरपालिका–१२ को रामजानकी सामुदायिक वनमा प्रशोधन केन्द्र रहेको छ । २० रोपनी जग्गामा उक्त संरचना निर्माण गरिएको छ । २०७९ चैतमा डीपीआर निर्माण गरेर फोहोर प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा काम भइरहेको छ । फोहोर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजनासमेत रहेको उनको भनाइ छ ।

‘फोहोर प्रशोधन केन्द्रमा फोहोरहरूको वर्गीकरण तथा प्रशोधनसमेत हुनेछन्’ नगरप्रमुख ढकालले भने, ‘प्रशोधन केन्द्र पूर्णरूपमा सम्पन्न भई सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक आम्दानीसमेत बढ्नेछ ।,’ फोहोरलाई मोहोर बनाउन प्रशोधन केन्द्र निर्माण थालिएको उनको भनाइ छ । फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको ढकालले बताए ।

प्रशोधन केन्द्रसम्म पुग्ने पहुँच मार्ग निर्माण लगायतका काम सकिएको नगरपालिकाले जनाएको छ । अन्य संरचना निर्माण समेत भइसकेको छ । सुरुमा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० मा ५० लाख बजेट विनियोजन गरेको थियो । आर्थिक वर्षमा उक्त योजनाको निरन्तरताका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले ४९ लाख ५० हजार बजेट छुट्टाएर काम गरेको गरेको थियो । हाल सडक, पानी लगायतका कामका लागि भन्दै २०८२ वैशाख २४ गते सौरव निर्माण सेवा सँग ९९ लाख ९८ हजार ३ सय ५३ रुपैयाँमा बाँकी काम भइरहेको छ । २०८२ असार १५ गतेसम्म काम पुरा गर्ने सम्झौतामा उल्लेख छ ।

फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । पछिल्लो समय सहरीकरण बढ्दै छ । विकासका पूर्वाधार निर्माण भएसँगै गाउँहरू समेत सहरमा परिणत हुँदै छन् । जनसंख्या पनि बढ्दो छ । फोहोर पनि बढेको छ । यसरी उत्पादित फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । स्थानीय पालिकाहरू फोहोर व्यवस्थापनमा सफल हुन सकेका छैनन् ।

अधिकांश पालिकाहरूमा ल्याण्डफिल साइटसमेत छैनन् । यस्तो अवस्थामा भेरीगंगाले फोहोरलाई मोहरमा रूपान्तरण गर्ने योजनासहित अघि सारेको फोहोर प्रशोधन केन्द्र निर्माण योजना अन्य स्थानीय तहहरूका लागि पनि अनुकरणीय हुन पुगेको छ । भेरी कोरिडोर तथा कर्णाली राजमार्गलाई समेत यो प्रशोधन केन्द्रमा आउन जान सहज हुने गर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार